Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • बाजुराका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा
Image

बाजुराका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा

ndh

बाजुराका ९ वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भिरालो र कमजोर भू-बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण सिंगो जिल्ला विपद्को उच्च जोखिममा परेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन् । बाजुराका करिब १५० बस्ती बाढीपहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जिल्ला विपद् प्रतिकार्य योजनामा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

बडीमालिका नगरपालिकाका घागर, भौनेरा, पाटा, मुसिगाउँ, सेरी, घोगाली, तिपाडी, वलेना, सल्लेरीवाडा, जिल्ली, सिराडी, बाउली र गडखेत बाढीपहिरोको उच्च जोखिममा छन् । यस्तै, बुढीगंगा नगरपालिकाका कुडी, बल्दे, नडाङ, गड्तोला, बसाली, साउबाडा, खोडालबाडा, काटेवाडा, फालासैन, बाम्का बजार, बेतालमाडौं, सेलापाखा लगायतका गाउँहरू जोखिममा रहेको जिल्ला विपद् प्रतिकार्य योजनामा उल्लेख छ ।

त्रिवेणी नगरपालिकाका बिसान बजार, सल्लेरी, पिपलसैन, राउतेला, किम्नी, ढोड क्षेत्र गैरे, पन्धारा गाउँ, फल्नेतोला, पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरीवाडा, नृपाली टोल, ताम्सु, नुवाकोट उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, बुढीनन्दा नगरपालिकाको मटेला, पारतोला, पीपलडाली, रावतवाडा, कोल्टी, नुरी, कालगोठी, खुवा, भिडीगाउँ, भुलेना, जैलु, ताडी, घोडाकोट, दैया, लाटोबस्ती, खारगडा, पहेलसेरा, नौलाकोट, शेरकाटीया, खड्कावाडा बाढी पहिरोको उच्च जोखिममा छन् ।

गौमुल गाउँपालिकाको माडी, सिम, अन्द्राडी, दर्गाली, खौला, अम्लिस, डाडा, गताडी, मल्लोदुगन, पौदाली, कहुडा, पाटा, चल्लोकाट्ना, आगर, रनेडा, जडे, तलदुगन, आला, धल्काडा, काटीगाउँ, बेहरी, दल्याडी, गर्जे, पाते, भिराली, बेडुखला, डाडावाडा, कोट, नक्राडा, पडीकोट, शान्तिटोल, बाउनी, टुनी, टाडाकोट, बसाला आदि बस्तीहरू जोखिमपूर्ण अवस्थामा रहेको प्रजिअ निरौलाले बताए ।

त्यस्तै, खप्तड छेडेदह गाउँपालिकाका नाउलीखोला, बल्दे, टुनिसैन, धनाल्त, गुइवन, चास्ला, डोगडी, सिम्पाटा, नाइना, सुदाडा, जगन्नाथ गाउँपालिकाका खारखोला, मुसेखोला, तल्लो हुनी, जुड्डी उच्च जोखिममा रहेको विपद् प्रतिकार्य योजनामा उल्लेख छ । स्वामीकार्तिक खापर गाउँपालिकाका बर्कु, जोरु, मुक्तिकोट, जिजुवा, सुपाना, डेनी, जुकु, जोरु, मिगु, डाँडावाडा, हिमाली गाउँपालिकाका बिच्छ्या, नेटा, फैती र पाडी गाउँ उच्च जोखिममा रहेका छन् ।

जिल्ला विपद् प्रतिकार्य योजनाले बाढीपहिरो जस्ता विपद्को उच्च जोखिममा रहेकामध्ये करिब ११५ बस्तीहरू तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने जनाएको छ । तर ती बस्ती स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा वर्षातको समयमा यहाँको जनजीवन प्रभावित बनेको छ भने बाढीपहिरोको त्रासले स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य छन् ।

यस तथ्यले जिल्लाका सबै स्थानीय तहहरू विपद्को उच्च जोखिममा छन् भने दर्जनौं बस्तीहरू बाढीपहिरोको चपेटामा परेको बुढीनन्दा नगरपालिकाका हिक्मत वडले बताए ।

बुढीगंगा नदीले बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका सयौं परिवारको खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको छ भने दर्जनौं बस्तीहरू बाढीको उच्च जोखिममा रहेको स्थानीय दीपक बडुवालले बताए ।

विपद् जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण, पहिरो नियन्त्रण, नदी व्यवस्थापन, व्यवस्थित सडक निर्माण, वन संरक्षण तथा प्रभावकारी पूर्वसूचना प्रणालीमा लगानी नगरेसम्म बाजुराले हरेक वर्ष उस्तै पीडा खप्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले बुढीगंगा नदीले वर्षेनी कटान गरेर खेतीयोग्य जमिन बगर बनाएको भन्दै बाम्का बजारसमेत नदीमा मिसिने उच्च जोखिममा रहेको बताए ।

‘बाढीपहिरोको चपेटामा परेका नगरपालिकाका दर्जन बढी बस्तीहरू तत्काल स्थानान्तरण गर्नु पर्नेछ,’ नगर प्रमुख बानियाँ भन्छन्, ‘स्थानीय तहसँग धेरै ठूलो स्रोतसाधन नहुँदा एकल प्रयासले विपद् न्यूनीकरण गर्न सम्भव छैन । सामान्य समस्या विपद् समितिमार्फत समाधान गरिरहे पनि ठूलो समस्या आइलाग्दा जिल्ला, विपद् प्राधिकरण जस्ता अन्य निकायसँग जोडिनु पर्ने हुन्छ ।’

विपद् प्रतिकार्य योजना २०८३ को तथ्यांकअनुसार जिल्लाभर २०७७ साल यता बाढीपहिरो जस्ता विपद्जन्य घटनामा परी ६२ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरो र अविरल वर्षाका कारण ७२५ घरपरिवार विस्थापित हुनुका साथैं करिब एक हजार ७२८ रोपनी खेतीयोग्य जमिन बाढीपहिरोले बगाएको तथ्यांकमा उल्लेख छ ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरो, भूकम्प, आगलागी जस्ता विपद्ले जुनसुकै बेला पनि ठूलो धनजनको क्षति पुर्‍याउन सक्ने बताए ।

विपद्लाई पूर्ण रूपमा रोक्न नसकिए पनि सचेतना, पूर्वतयारी र व्यवस्थित प्रतिकार्य योजनाका माध्यमबाट यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न र अमूल्य मानव जीवनको रक्षा गर्न सकिने उनले बताए ।

निरौलाले वर्षातमा आकस्मिक रूपमा आइपर्ने विपद्जन्य घटनाको रोकथाम तथा व्यवस्थापनमा केन्द्रित हुनुपर्ने भन्दै बस्ती नै स्थानान्तरण गर्ने विषय भने सहज नभएको प्रतिक्रिया दिए ।

ndh

Related Posts

निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत

निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार…

ByByadmin Jul 28, 2026

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२…

ByByadmin Jul 28, 2026

सरकार डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता असुलीमा मौन

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि जारी विवादित डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् बक्यौता असुलीका विषयमा सरकार मौन…

ByByadmin Jul 28, 2026

बजार व्यवस्थापनलाई स्वचालित प्रणालीमा लैजानुपर्नेमा जोड

बिहान उठेर तरकारी किन्न जाँदा होस् वा लत्ताकपडा जोड्दा, आम उपभोक्ताको साझा भोगाइ एउटै छ- महँगीले ढाड सेकिन्छ,…

ByByadmin Jul 28, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *