निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार बिहान सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले निर्वाचन व्यवस्थापनमा व्यापक सुधारका योजनाहरू अघि सारेका हुन् । करिब २५ वर्ष निजामती सेवामा बिताएका वाग्लेले निर्वाचन आयोगलाई आधुनिक र विश्वसनीय संस्थाको रूपमा विकास गर्ने बताएका हुन् ।
वाग्लेले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न पहल गर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै उनले हुलाक, मन्जुरी वा इन्टरनेट भोटिङमध्ये उपयुक्त विकल्प छनोट गरी कार्यान्वयनमा लैजाने योजना अघि सारेका हुन् ।
वाग्लेले मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने अधिकार अर्थात् ‘नो भोट’ को कानुनी व्यवस्थाका लागि पहल गर्ने उनको भनाइ छ ।
निर्वाचन व्यवस्थापनलाई झन्झटमुक्त बनाउन अनलाइन मतदाता नामावली दर्ता, बायोमेट्रिक पहिचान र भविष्यमा विद्युतीय मतदान मेसिनको प्रयोगका बारेमा सम्भाव्यता अध्ययन र सरोकारवालासँग छलफल गर्ने योजना वाग्लेले सुनाए ।
अत्यधिक खर्चिलो बन्दै गएको निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन राजनीतिक दल र उम्मेदवारको खर्चको सीमालाई प्रभावकारी रूपमा अनुगमन गर्ने र बैंकिङ प्रणालीमार्फत कारोबार गराउने अवधारणा उनको छ ।
मतदान प्रतिशत बढाउन र बदर मत कम गर्न विद्यालय तहको पाठ्यक्रममै निर्वाचन शिक्षा समावेश गर्ने र सामाजिक सञ्जालको प्रयोगमार्फत सचेतना फैलाउने वाग्लेको कार्ययोजनामा उल्लेख छ। निर्वाचन आचारसंहितालाई कठोरताका साथ पालना गराउने उनले बताए ।
आयोगको आफ्नै भवन नभएका जिल्लाहरूमा भौतिक संरचना निर्माण गर्ने, जनशक्तिलाई तालिम दिने र निर्वाचन सम्बन्धी एकीकृत कानुन निर्माण गरी कार्यान्वयन गर्ने लक्ष्य वाग्लेको छ ।
वाग्लेले संविधान र कानुनको परिधिभित्र रही लोकतान्त्रिक मूल्यमान्यता जोगाउन र निर्वाचनको निष्पक्षता कायम राख्न आफू सदैव प्रतिबद्ध रहने बताए ।


















































































































