Image Not Found
Menu
LATEST NEWS

Image

बर्ड फ्लुका बारेमा भ्रम र तथ्य

ndh

नेपालका विभिन्न जिल्लाहरूमा विगत केही महिनादेखि बर्ड फ्लुको प्रकोप देखा परिरहेको छ । पशु सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालका ११ जिल्लाका १४० भन्दा बढी स्थानमा बर्ड फ्लु रोग निदान भएको छ । बर्ड फ्लु नियन्त्रण गर्न नेपाल सरकारले करिब ७ लाख ५० हजार पन्छी, १० लाख ५० हजार अन्डा र २०० टन दाना नष्ट गरिसकेको छ ।

बर्ड फ्लु अर्थात् एभियन इन्फ्लुएन्जा (H5N1) कुखुरालगायत अन्य पन्छीमा लाग्ने एक प्रकारको विषाणुजन्य सरुवा रोग हो । यो रोग सङ्क्रमित पन्छी वा पन्छीजन्य उत्पादनबाट मानिसमा सर्ने जुनोटिक (Zoonotic) रोग भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिन्छ । अहिले सामाजिक सञ्जालदेखि चियाचौतारीसम्म यस रोगलाई लिएर आमनागरिकमा धेरै किसिमका भ्रमहरू फैलिएका छन्, जसले गर्दा अनावश्यक त्रास पैदा भई रोग नदेखिएको स्थानमा समेत कुखुराको अन्डा र मासुको खपत उल्लेखनीय रूपमा घटेको पाइन्छ ।

आउनुहोस्, यस रोगका बारेमा समाजमा व्याप्त प्रमुख भ्रम र तिनका वैज्ञानिक तथ्य बुझौँ :

१. कुखुराको मासु र अन्डा नखाने

भ्रम : बर्ड फ्लु फैलिएको बेला कुखुराको मासु वा अन्डा खाएमा बर्ड फ्लु लाग्छ, त्यसैले कुखुराको मासु र अन्डा खानु हुँदैन ।

तथ्य : बर्ड फ्लुको भाइरस तापप्रति संवेदनशील हुन्छ । कुखुराको मासु र अन्डालाई ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा यो भाइरस पूर्ण रूपमा नष्ट हुन्छ । त्यसैले राम्रोसँग पकाएर खाँदा मासु र अन्डाबाट बर्ड फ्लु सर्दैन । तर बर्ड फ्लु लागेको कुखुरा पाल्ने, मासु काट्ने र मासु पकाउने मानिसहरूले आवश्यक सावधानी अपनाउनुपर्छ । कुरा फार्ममा काम गर्दा र मासु काट्दा अनिवार्य रूपमा पन्जा, मास्क, बुट र चस्माजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्छ । मरेका वा बिरामी कुखुरालाई खाली हातले नछोई सुरक्षित रूपमा खाल्डो खनेर गाड्नुपर्छ । काँचो मासु चलाएपछि र काम सकिएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । काँचो मासुलाई अन्य पाकेका खानेकुराभन्दा छुट्टै राख्नुपर्छ ।

२. यो रोग मानिसमा सजिलै सर्छ

भ्रम : कोरोना वा सामान्य रुघाखोकीजस्तै बर्ड फ्लु रोग पनि मानिसबाट मानिसमा निकै सजिलै र छिटो सर्छ ।

तथ्य : हालसम्म मानिसमा बर्ड फ्लुको सङ्क्रमण विरलै भएको पाइन्छ । यो भाइरस सङ्क्रमित जीवित वा मरेका कुखुरा, तिनको र्‍याल वा सुलीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिलाई सर्न सक्छ । हालसम्म मानिसबाट मानिसमा यो रोग सरेको तथ्याङ्क छैन ।

३. शाकाहारी मानिसहरू बर्ड फ्लु रोगबाट पूर्ण सुरक्षित छन्

भ्रम : म मासु वा अन्डा खाँदिनँ, त्यसैले मलाई बर्ड फ्लु लाग्ने सम्भावना हुँदैन ।

तथ्य : बर्ड फ्लु लाग्नुको मुख्य कारण मासु खानु मात्र होइन । यदि कुनै शाकाहारी व्यक्ति सङ्क्रमित कुखुराको ओसारपसारमा संलग्न छ वा सङ्क्रमित वातावरण (सुली, प्वाँख आदि)को प्रत्यक्ष सम्पर्कमा आउँछ भने उसलाई पनि यो रोग लाग्न सक्छ ।

४. सबै कुखुरा र पन्छीमा यो भाइरस हुन्छ

भ्रम : बर्ड फ्लु फैलिएपछि बजारमा पाइने र घरमा पालिएका सबै कुखुरा तथा पन्छीहरू सङ्क्रमित हुन्छन् ।

तथ्य : यो सङ्क्रमण केही निश्चित क्षेत्र वा फार्मका पन्छीहरूमा मात्र सीमित हुन्छ । जस्तै, हालसम्म यो रोग कोसी र बागमती प्रदेशका केही ठाउँहरूमा मात्र देखा परेको छ । व्यावसायिक फार्महरूले जैविक सुरक्षा अपनाउने र सरकारले प्रभावित क्षेत्रका कुखुरा, अन्डा र दाना नष्ट गर्ने हुनाले बजारमा सङ्क्रमित कुखुरा र अन्डा आउन सक्ने सम्भावना न्यून हुन्छ ।

५. बर्ड फ्लुको कुनै उपचार नै छैन र यो रोग लाग्नेबित्तिकै मानिसको मृत्यु हुन्छ

भ्रम : मानिसमा बर्ड फ्लु लागेपछि यसको कुनै उपचार सम्भव छैन र उसको मृत्यु निश्चित छ ।

तथ्य : मानिसमा बर्ड फ्लुको सङ्क्रमण देखिएमा सुरुवाती चरणमै चिकित्सकको सल्लाहमा एन्टिभाइरल औषधिहरूको प्रयोग गरी यो रोगबाट बच्न सकिन्छ । तर समयमा उपचार नपाएमा बर्ड फ्लु घातक हुन सक्छ । धेरैजसो मानिसमा यसको लक्षण सामान्य वा मध्यम खालको मात्र देखिन्छ र समयमै उपचार पाएमा मानिसहरू पूर्ण रूपमा निको हुन्छन् । करिब २९ वर्षदेखि हालसम्म विश्वमा बर्ड फ्लु (H5N1) लागेर मर्ने मानिसको सङ्ख्या पाँच सयभन्दा कम छ ।

६. कुखुराहरू धेरै मर्नेबित्तिकै त्यो बर्ड फ्लु नै हो

भ्रम : कुखुराहरू मर्नेबित्तिकै ती बर्ड फ्लु लागेरै मरेका हुन् ।

तथ्य : कुखुराहरू रानीखेत, गम्बोरोलगायत अन्य रोग र विषाक्तताका कारण पनि धेरै सङ्ख्यामा मर्न सक्छन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा वैज्ञानिक परीक्षण गरेपछि मात्र बर्ड फ्लु हो वा होइन भन्ने पुष्टि हुन्छ ।

७. अन्डाको बोक्राबाट भाइरस सर्दैन, त्यसैले काँचो अन्डा चलाउनु सुरक्षित छ

भ्रम : अन्डाभित्र मात्र भाइरस हुन सक्छ, बाहिरको बोक्रा छोएर केही हुँदैन ।

तथ्य : सङ्क्रमित कुखुराको सुली वा र्‍याल अन्डाको बोक्रामा टाँसिएको हुन सक्छ । त्यसैले, काँचो अन्डा छोएपछि वा भान्सामा प्रयोग गरेपछि साबुनपानीले अनिवार्य रूपमा हात धुनुपर्छ, नत्र सङ्क्रमण फैलन सक्छ ।

८. सबै इन्फ्लुएन्जाहरू बर्ड फ्लु नै हुन्

भ्रम : सबै प्रकारका फ्लु वा इन्फ्लुएन्जा भाइरसहरू बर्ड फ्लु नै हुन् र यी सबै पन्छीबाट मात्र फैलिन्छन् ।

तथ्य : इन्फ्लुएन्जा एउटा ठुलो भाइरसको परिवार हो, जसमा धेरै प्रकारका उपप्रजातिहरू हुन्छन् । कुखुरामा देखिने एभियन इन्फ्लुएन्जा पनि मुख्यतया दुई प्रकारको हुन्छ । कुखुरामा देखिने H5 र H7 एभियन इन्फ्लुएन्जा जुनोटिक प्रकारको हुन्छ, जसलाई बर्ड फ्लुको नामले चिनिन्छ भने H9 एभियन इन्फ्लुएन्जा मानिसमा सर्दैन । हामीलाई सामान्य मौसम परिवर्तन हुँदा लाग्ने रुघाखोकी र पन्छीमा लाग्ने बर्ड फ्लु फरक–फरक भाइरसले लगाउने रोग हुन् । त्यसैले, सबै इन्फ्लुएन्जा बर्ड फ्लु होइनन् ।

९. चिसो मौसममा मात्र बर्ड फ्लु फैलिन्छ

भ्रम : बर्ड फ्लु जाडो महिनाको रोग हो, गर्मी सुरु भएपछि यो पूर्ण रूपमा हराउँछ र जोखिम हुँदैन ।

तथ्य : चिसो मौसममा भाइरस बढी सक्रिय हुने र चराहरूको बसाइसराइ हुने हुनाले यो बेला प्रकोप बढी देखिनु स्वाभाविक हो । तथापि, नेपालमा बर्ड फ्लु प्रकोपको तथ्याङ्क हेर्दा यो रोग कुनै पनि महिनामा देखा पर्न सक्छ ।

पशु चिकित्सक, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखरा

ndh

Related Posts

भारतमा ‘ब्रेन–इटिङ अमिबा’को त्रास: घातक संक्रमणबाट १९ जनाको मृत्यु पुष्टि

न्युज सरोवर। भारतमा ‘ब्रेन–इटिङ अमिबा’ (Brain-eating Amoeba) भनेर चिनिने Naegleria fowleri संक्रमणका कारण १९ जनाको मृत्यु भएको पुष्टि…

ByByadmin Jul 28, 2026

स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपिल

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन…

ByByadmin Jul 28, 2026

कागती निचोरेर खाना खाँदा के हुन्छ ?

हामीले प्रायः सलाद, चटपटे, आलु चाट र सुपमा कागतीको रस मिसाएको देखेका छौं । तर केही मानिसहरू तरकारी…

ByByadmin Jul 27, 2026

खाना पकाएको दुई घण्टाभित्र फ्रिजमा राख्नुहोस्

मानिसहरूले खाना पकाएपछि घण्टौंसम्म बाहिर छोड्छन् र पछि फ्रिजमा राख्छन् । यो बानीले खानाको गुणस्तर त बिगार्छ नै…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *