Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • सरकार डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता असुलीमा मौन
Image

सरकार डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता असुलीमा मौन

ndh

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि जारी विवादित डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् बक्यौता असुलीका विषयमा सरकार मौन बसेको छ ।

सरकार गठन भएको चार महिना पूरा हुँदासमेत विवादित बक्यौता रकम उठाउन कुनै पहल भएको छैन । विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमै ‘राज्यको ढुकुटीमा आउनुपर्ने पैसा जसरी पनि उठाउनुपर्छ’ भन्दै जोडदार आवाज उठाउने गरेका थिए ।

तर, २०८२ फागुन २१ को निर्वाचनमा करिब दुई–तिहाइ बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा रास्वपाकै सरकार बनेको छ । संसद्मा करिब दुई–तिहाइ सांसद रास्वपाकै भए पनि यसबारे बालेन सरकार र रास्वपाका सांसदहरू अहिलेसम्म मौन छन् ।

विवादित विद्युत् बक्यौताबापतको करिब साढे सात अर्ब रुपैयाँ उठाउनुपर्ने दायित्व बालेन सरकारको काँधमा आएको चार महिना भइसके पनि सरकारले कुनै ठोस निर्णय लिन सकेको छैन ।

यद्यपि, विद्युत् प्राधिकरणले उद्योगीहरूलाई कानुनी लडाइँका लागि बाटो भने खुला गरिदिएको छ । वर्तमान सरकार बनेसँगै गत जेठ १९ गते ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् बक्यौता पुनरवलोकनको प्रक्रिया पुनः अघि बढाउने निर्णय गरेको थियो ।

बैठकले प्राधिकरणका सञ्चालक कृष्ण बसेलको संयोजकत्वमा पुनरवलोकन समिति गठन गरेको छ । सोही समितिले उद्योगीको विद्युत् बक्यौता पुनरवलोकन गर्ने प्रक्रिया अघि बढाउने भनिए पनि अहिलेसम्म खासै प्रगति भएको देखिँदैन ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले भने समितिले काम गरिरहेको दाबी गरेका छन् । प्राधिकरणले प्रक्रिया अघि नबढाएको भन्ने कुरा सत्य नभएको र समितिले काम गरिरहेको उनले बताए ।

उनले भने, ‘विगतमा उद्योगीहरूले दुई किस्तासम्म रकम बुझाएका थिए । त्यसपछि पुनरवलोकनमा जान पाउने व्यवस्था भएकाले अहिले रकम असुलीको काम रोकिएको छ । तर प्राधिकरणले ताकेता गरिरहेकै छ । समितिले काम गरिरहेकाले तत्कालका लागि कुनै उद्योगबाट बक्यौता रकम उठेको छैन ।’

समितिमार्फत समाधानको बाटो खोजिएकाले सोही अनुरूप काम भइरहेको उनको दाबी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यभार सम्हालेको करिब एक महिनापछि मन्त्री विराजभक्त श्रेष्ठले बक्यौता विवाद सुल्झाउने स्वायत्तता नेपाल विद्युत् प्राधिकरणलाई नै दिइएको बताएका थिए । बक्यौता उठाउने अधिकार र जिम्मेवारी प्राधिकरणकै भएको भन्दै उनले मन्त्रालयको तर्फबाट जिम्मेवारी प्राधिकरणलाई नै सुम्पिएर पन्छिएका थिए ।

तथापि, प्राधिकरणको पुनरवलोकन समितिबाट विवाद समाधान हुन नसके मन्त्रालयले महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले त्यतिबेला भनेका थिए, ‘डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमको विवाद लामो समयदेखिको हो । त्यसैले यसको समाधानका लागि मन्त्रालयले प्राधिकरणलाई नै जिम्मेवारी दिन्छ ।’

मन्त्री श्रेष्ठले विगतका निर्णय, अदालतका फैसला र विभिन्न प्रतिवेदनहरूलाई आधार मानेर मन्त्रालयले कदम चाल्ने स्पष्ट पार्दै थपेका थिए, ‘अहिले केही उद्योगले पैसा तिरेको कुरा पनि आएको छ । यो विषय झन् पेचिलो भयो भने हामी महालेखा र अख्तियारसँग कुरा गरेर निष्कर्ष निकाल्छौँ ।’ तर, अहिलेसम्म त्यस दिशातर्फ कुनै ठोस प्रक्रिया अघि बढेको छैन ।

विवादित विद्युत् बक्यौताका विषयमा विभिन्न समयमा धेरै निर्णयहरू भएका छन्, तर समाधान हुन सकेको छैन । वर्तमान सरकारले समाधान दिने अपेक्षा धेरैको थियो, तर यो सरकारले पनि पुरानै पुनरावलोकन समितिलाई ब्युँत्याएर अघि बढेको छ ।

यसअघि तत्कालीन केपी शर्मा ओली सरकारका पालामा ऊर्जामन्त्री दीपक खड्काले २०८१ चैतमा उद्योगीलाई बक्यौता छुट दिने योजनासहित पुनरवलोकन प्रक्रिया अघि बढाएका थिए । तर, सो समितिले असोज ८ गते पुनरवलोकन गर्न नमिल्ने प्रतिवेदन दिएको थियो ।

२०८२ कात्तिक २१ मा प्रधानमन्त्री कार्यालयको पत्रअनुसार स्वतन्त्र कानुनविज्ञसँग लिइएको कानुनी रायका आधारमा प्रशासकीय पुनरवलोकन समिति गठन गर्ने निर्णय गरिएको थियो ।

गत माघमा तत्कालीन ऊर्जामन्त्री अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिले प्रधानमन्त्री कार्यालयको पत्रका आधारमा स्वतन्त्र कानुनविज्ञसँग राय माग्ने निर्णय गरेको थियो ।

२०८१ चैत २९ मा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले सञ्चालक श्यामकिशोर यादवको संयोजकत्वमा यस्तो समिति बनाएका थिए, जसमा ४६ उद्योगले आवेदनसमेत दिएका थिए । तर, त्यो समितिले असोज ८ गते सातबुँदे कारण देखाउँदै पुनरवलोकन प्रक्रिया अघि बढाउन नसकिने प्रतिवेदन बुझाएको थियो ।

त्यसैका आधारमा २०८२ असोज १० मा तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता उठाउने निर्णय गरेको थियो ।

त्यसपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै कात्तिक २ गतेसम्म बक्यौता तिर्ने अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमअनुसार सीमित उद्योग मात्रै प्रक्रियामा आए । अल्टिमेटमलाई बेवास्ता गर्ने ३१ मध्ये २५ उद्योगको लाइन तत्कालीन ऊर्जामन्त्री कुलमानले काटिदिएका थिए ।

उद्योगको लाइन काटिएपछि प्रायः सबै उद्योगले पहिलो र केहीले दोस्रो किस्ताबापतको रकम तिरेका थिए । तर, २०८२ कात्तिक १७ मा प्रधानमन्त्री कार्यालयमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष चन्द्रप्रसाद ढकालबचि पहिलो किस्ता तिर्ने र न्यायिक प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

सोही सहमतिअनुसार पहिलो किस्तालाई धरौटी मान्ने सहमति भएको उद्योगीहरूको दाबी थियो । त्यसपछि अधिकांश उद्योगले पहिलो किस्ता तिरे पनि त्यसयता प्राधिकरणले निरन्तर ताकेता गर्दा पनि बाँकी रकम तिरेका छैनन् ।

सरकारले बक्यौता उठाउन तदारुकता नदेखाएपछि कुलमान घिसिङले असन्तुष्टि जनाएका छन् । उद्योगीहरूबाट अर्बौँ रुपैयाँ बक्यौता असुलीका लागि सरकार गम्भीर नबनेको आरोप उनको छ ।

उद्योगीले ‘तिरिसकेको’ दाबी गर्ने र प्राधिकरणको स्रेस्तामा ‘उठाउन बाँकी’ देखिएको रकमप्रति नयाँ सरकारले चासो नदेखाएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

उनले डेडिकेटेड र ट्रंकलाइनको पहिलो किस्ता बुझाइसकेका उद्योगहरूबाट समेत बाँकी बक्यौता उठाउन प्रभावकारी पहल नगर्नुले सरकारको सुशासनको नारामाथि नै संशय पैदा गरेको बताएका छन् ।

‘विगतमा राजनीतिक हस्तक्षेपका कारण बक्यौता असुलीमा अवरोध गरिएको थियो । तर अहिले त करिब दुई–तिहाइ बहुमतको सरकार छ । कानुनबमोजिम बक्यौता उठाउन कसले रोकेको छ ?’ उनले प्रश्न गरेका छन् ।

घिसिङका अनुसार टुङ्गिइसकेको प्रशासनिक पुनरवलोकनको विषयलाई फेरि उचालेर असुली प्रक्रियालाई अन्योलमा पार्ने प्रयास भइरहेको छ ।

लोडसेडिङका बेला प्राधिकरणले थप ६५ प्रतिशत प्रिमियम शुल्क लिने सर्तमा उद्योगहरूलाई ट्रंकलाइनबाट २० घण्टा र डेडिकेटेड फिडरबाट २४ घण्टासम्म विद्युत् उपलब्ध गराएको थियो । प्राधिकरणका अनुसार ४६ उद्योगबाट २०७२ माघदेखि २०७५ वैशाखसम्मको करिब साढे सात अर्ब रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ ।

प्राधिकरणले उद्योगीहरूलाई २८ किस्तामा रकम तिर्ने सुविधासहित कात्तिक २ सम्मको समय सीमा दिएको थियो । तर, उक्त समयसीमाभित्र ३१ मध्ये ६ वटा उद्योगले मात्र प्रक्रियामा चासो देखाए, जसले पहिले नै अदालतबाट अन्तरिम आदेश ल्याएका थिए । बाँकी २५ वटा उद्योगको लाइन प्राधिकरणले काटिदिएको थियो ।

पछिल्लो कारबाहीपछि ३५ वटा उद्योग किस्ता तिर्न राजी भएका थिए । तर तीमध्ये रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता तिरेर अदालतबाट अन्तरिम आदेश ल्याएपछि अन्य ३४ वटा उद्योग पनि अहिलेसम्म सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ ।

रिलायन्ससहित सातवटा उद्योग अहिले प्राधिकरणविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन् । हाल सरकारी, किस्ता रोकेका, अदालतबाट ‘स्टे–अर्डर’ ल्याएका र सम्पर्कमै नरहेका गरी कुल ४६ वटा उद्योगको साढे सात अर्ब रुपैयाँ असुल हुन बाँकी छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा कुल ५८ वटा उद्योग बक्यौता तिर्नुपर्ने सूचीमा थिए । ५८ मध्ये १२ वटा उद्योगले मात्र सम्पूर्ण बक्यौता चुक्ता गरेका छन् भने दुईवटा सरकारी स्वामित्वका उद्योगले बक्यौता तिर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

ndh

Related Posts

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीको विशेष पहल जारी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन्। केही दिनदेखि अशान्त…

ByByadmin Jul 29, 2026

सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ गएनन्

सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह -बालेन_ र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका…

ByByadmin Jul 29, 2026

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक…

ByByadmin Jul 29, 2026

आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने…

ByByadmin Jul 29, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *