काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम क्षेत्रका नीतिगत सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले श्रम कानुनलाई समयानुकूल संशोधन गर्ने, श्रम अडिट प्रणालीलाई डिजिटलीकरण गर्ने तथा श्रम प्रशासनमा देखिएका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो।
उहाँले विभागलाई व्यवहारिक सुझावका आधारमा कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिँदै श्रमिकमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउन आग्रह गर्नुभयो।
गोष्ठीमा विभागले आर्थिक वर्ष २०८२/०८३ मा हासिल गरेका प्रगतिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। साथै, श्रमिकका अधिकार संरक्षण, गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा श्रम प्रशासनलाई थप उत्तरदायी र प्रविधिमैत्री बनाउने विषयमा समेत सहभागीहरूबीच विस्तृत छलफल भएको विभागले जनाएको छ।


















































































































