सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले उक्त दृश्य देखेपछि तत्काल परिवारका सदस्यलाई खबर गरेकी थिइन् । त्यसपछि आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए ।
घटनापछि प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैयामा पु¥याएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको थियो । हाल रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















































































































