नेपाल फार्मेसी संघ बागमती प्रदेशद्वारा काठमाडौं जिल्ला दोस्रो भेला भव्य रूपमा हुँदै

न्युज सरोवर, काठमाडौं ।
फार्मेसी पेशाको मर्यादा, एकता र व्यवसायिक सुदृढीकरणलाई केन्द्रमा राख्दै नेपाल फार्मेसी संघ (Pharmacy Association of Nepal – PhAN) बागमती प्रदेश कार्यसमितिको आयोजनामा तथा नेपाल फार्मेसी संघ काठमाडौं जिल्लाको सहकार्यमा काठमाडौं जिल्ला दोस्रो भेला आयोजना हुने भएको छ।
संघका अनुसार उक्त भेला फार्मेसी पेशासँग आबद्ध व्यवसायी, फार्मासिस्ट, औषधि व्यवसायी, विद्यार्थी तथा सरोकारवाला निकायहरूबीच अनुभव साटासाट, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे छलफल गर्ने एक महत्वपूर्ण प्लेटफर्म बन्ने विश्वास लिइएको छ।
भेलामा फार्मेसी क्षेत्रको वर्तमान अवस्था, देखिएका चुनौती, सम्भावना, नीति–नियम, व्यवसायिक हकहित, साथै स्वास्थ्य क्षेत्रमा फार्मेसीको भूमिकालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल हुने जनाइएको छ। पेशागत एकता मजबुत बनाउँदै फार्मेसी सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा आयोजकले गरेका छन्।
नेपाल फार्मेसी संघले जारी गरेको सूचनामा कार्यक्रममा सक्रिय सहभागिताले भेलालाई थप सफल, प्रेरणादायी र अर्थपूर्ण बनाउने उल्लेख गर्दै सम्बन्धित सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रम विवरण:
मिति: २०८२ माघ ३ गते, शनिबार
समय: दिउँसो १२:१५ बजे
स्थान: बानेश्वर थापागाउँस्थित कार्निभल रेस्टुरेन्ट
संघका पदाधिकारीहरूका अनुसार यस्ता भेलाहरूले फार्मेसी पेशामा देखिएका समस्या समाधानका लागि साझा आवाज बुलन्द गर्न सहयोग पुग्नुका साथै युवा पुस्तालाई पेशाप्रति आकर्षित गर्न समेत महत्वपूर्ण भूमिका खेल्नेछ।
यसै भेलामार्फत नयाँ कार्यसमिति चयन हुने कार्यक्रम समेत रहेकाले सम्पूर्ण फार्मासिस्ट तथा संघसँग आबद्ध सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित भई सहभागिता जनाउन आयोजक समितिले विशेष अनुरोध गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।







प्रतिक्रिया (0)