रुकुम पूर्वको झुम्लावाङ फलाम खानीबारे स्थानीयको आपत्ति, जागरण गीत सार्वजनिक

रुकुम पूर्व, – रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लावाङस्थित प्रस्तावित फलाम खानी परियोजनाबारे स्थानीय प्रभावित समुदायले गम्भीर असहमति जनाएको छ। झुम्लावाङ खानी सरोकार समितिले प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित समुदायको सहमति बिना खानी परियोजना अघि बढाउन खोजिएको आरोप लगाएको हो।
समितिका अनुसार झुम्लावाङवासीसहित सिमा, क्याङ्सी र मौवाङ गाउँका बासिन्दा प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित हुने भए पनि उनीहरूको आवाजलाई बेवास्ता गरिएको छ। स्थानीय सरकार र सम्बन्धित निकायसमक्ष पटक–पटक असहमति राख्दा पनि सम्बोधन नभएको समितिको भनाइ छ।
समितिले खानी सम्बन्धी अध्ययन, भूगर्भीय नक्साङ्कन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन सार्वजनिक नगरेको भन्दै पारदर्शितामाथि प्रश्न उठाएको छ। साथै नेपालको संविधानले प्रत्याभूत गरेको सूचना पाउने अधिकार, सहभागिता र सामाजिक न्यायको अधिकार उल्लंघन भएको उल्लेख गर्दै ILO Convention 169 अनुसार स्वतन्त्र, पूर्व र सूचित सहमति (FPIC) अनिवार्य भए पनि त्यसको पालना नभएको दाबी गरिएको छ।
यसैबीच, खानी परियोजनाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले समितिले जागरण स्वरूप “उठौँ उठौँ गाउँबासी” बोलको गीत सार्वजनिक गरेको छ। उक्त गीत समाजसेवी तथा गीतकार पद्मा लिन्खा मगरको रचना हो।गीतमा सीडी विजय अधिकारी र रचना रिमालले स्वर दिएका छन् भने संगीत राजकुमार बगरले भरेका छन्। जागरण सन्देश बोकेको उक्त गीत झुम्लावाङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको समितिले जनाएको छ।
समितिले विकासका नाममा जल, जमिन, जंगल र जीवनमाथि जोखिम सिर्जना हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने दोहोर्याउँदै प्रभावित समुदायको पूर्ण सहभागिता र सहमतिविना परियोजना अघि बढाइए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएको छ।
झुम्लावाङ खानी सरोकार समितिका संयोजक प्रकृति बुढा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक तथा वातावरणीय न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।






प्रतिक्रिया (0)