योगदान राष्ट्रको लागि द्वारा आयोजित २ दिने First Aid तथा CPR तालिमको पहिलो दिन उत्साहजनक सहभागिता

News Sarobar 275


काठमाडौं। योगदान राष्ट्रको लागि द्वारा आयोजना गरिएको २ दिने First Aid and CPR Training को पहिलो दिन अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। देशका विभिन्न भूभागबाट आएका सहभागीहरूको सक्रिय उपस्थिति, उत्साह र जिज्ञासाले कार्यक्रमलाई झन् प्रभावकारी बनाएको आयोजक संस्थाले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित प्रशिक्षक ओम उप्रेतीज्यूको निर्देशनमा सञ्चालन भइरहेको तालिममा सहभागीहरूले प्राथमिक उपचार तथा आकस्मिक अवस्थामा दिने सहयोगका सीपहरूको विस्तृत ज्ञान प्राप्त गरेका छन्। CPR, रक्तस्राव नियन्त्रण, हाडभाँचिएको अवस्थामा गर्नुपर्ने कार्यहरू, घाउ व्यवस्थापन, श्वासप्रश्वास समस्या समाधानका उपाय तथा आकस्मिक दुर्घटनामा तुरुन्त अपनाइने विधिबारे व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको थियो।
सहभागीहरूको भनाइमा, तालिम अत्यन्तै उपयोगी, जीवनरक्षक र वास्तविक जीवनमै प्रयोग गर्न मिल्ने खालको भएको छ। कतिपय सहभागीहरूले यस्तो कार्यक्रम देशका सबै क्षेत्रमा नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता समेत व्यक्त गरेका छन्।
कार्यक्रमको औपचारिक उद्घाटन योगदान राष्ट्रको लागि का केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीज्यूले गर्नुभएको थियो। उहाँले योगदान राष्ट्रको लागि ले समाजमा व्यवहारिक ज्ञान, सेवा र मानवीय चेतनाको विस्तारका लागि निरन्तर कार्य गरिरहेको बताउनु भयो।
उहाँका अनुसार, “प्राथमिक उपचार सिक्नु केवल सीप मात्र होइन, मानवीय दायित्व पनि हो। एकले सिकेको कौशलले अर्को व्यक्तिको ज्यान बचाउन सक्छ,” भन्ने सन्देश दिँदै सबै सहभागीलाई सक्रिय रूपमा सिक्न प्रेरित गर्नुभयो।
पहिलो दिनको तालिम सम्पन्न भएपछि कार्यक्रमकै क्रममा पाँचौँ साधारण सभा बसेर संस्थाको हालसम्मको गतिविधि समीक्षा, कमजोरी र अवसरको विश्लेषण, तथा आगामी वर्षका लागि बनाइने दीर्घकालीन कार्ययोजना बारे विस्तृत छलफल गरिएको थियो। भविष्यमा योगदान राष्ट्रको लागि ले कसरी अझ प्रभावकारी रूपमा सामाजिक सेवा, जनचेतना अभिवृद्धि तथा आपतकालीन सहायतामा अग्रपङ्तिमा रहन सक्छ भन्ने विषयमा सहभागीहरूले आफ्ना सुझाव र विचारहरू राखे।
आज दोस्रो दिन बाँकी प्रशिक्षण सकिएपछि योगदान राष्ट्रको लागि ले प्रभातफेरी तथा राष्ट्रिय भेला आयोजना गर्दैछ। यस कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण, अनुभव साझेदारी तथा संस्थाका आगामी महत्त्वपूर्ण घोषणाहरू समेत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *