दोलखामा रास्वपाप्रति बढ्दो आकर्षण : जिरी–१ मा भव्य वडा अधिवेशन सम्पन्न

दोलखा, जिरी । दोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर–०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। स्थानीयस्तरमा पार्टी संगठन विस्तार र जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ आयोजना गरिएको अधिवेशनले वडामा रास्वपाको उपस्थितिलाई थप मजबुत बनाएको छ।
अधिवेशनबाट अम्बिर कार्कीको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटीको तदर्थ समिति गठन गरिएको छ। नवगठित तदर्थ समितिले वडास्तरमा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार, तथा जनसरोकारका मुद्दाहरूलाई संस्थागत रूपमा उठान गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथिमा रास्वपाका नेता जगदीश खरेल रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा स्मृति सिन्चुरी, राजु खड्का र हिरण्यराज उप्रेतीलगायत जिल्लाका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेताहरूले रास्वपाले सुरु देखिनै सुशासन, पारदर्शिता, उत्तरदायित्व र जनमुखी राजनीतिलाई मूल एजेन्डा बनाउँदै आएको उल्लेख गर्दै पुराना राजनीतिक अभ्यासबाट निराश भएका नागरिकहरूको आशाको केन्द्र बन्दै गएको बताएका थिए।
अधिवेशनमा वडाका भद्रभलाद्मी, युवा वर्ग, महिला तथा ज्येष्ठ नागरिकहरूको बाक्लो सहभागिता रहेको थियो। सहभागीहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बताउँदै रास्वपाले त्यो खाली ठाउँ भर्न सक्ने विश्वास व्यक्त गरेका थिए। विशेषगरी युवाहरूको सक्रिय सहभागिताले पार्टीप्रति बढ्दो आकर्षण र भरोसा स्पष्ट देखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला नेता हिरण्यराज उप्रेतीले पछिल्लो समय दोलखा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण तीव्र रूपमा बढ्दै गएको बताउनुभयो। उहाँले जनताको दैनिक समस्यामा केन्द्रित राजनीति, भ्रष्टाचारविरुद्धको स्पष्ट अडान र नयाँ राजनीतिक संस्कारकै कारण रास्वपा जनतामाझ लोकप्रिय बन्दै गएको दाबी गर्नुभयो।
नेताहरूले स्थानीय तहदेखि नै संगठनलाई बलियो बनाउँदै लैजाने, जनतासँग प्रत्यक्ष संवाद गर्ने र जनताको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने रणनीतिमा पार्टी अघि बढिरहेको बताएका थिए। अधिवेशनले आगामी दिनमा वडा स्तरमा विभिन्न सामाजिक, सचेतनामूलक तथा संगठनात्मक गतिविधिहरू सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
अधिवेशनको सफल आयोजनासँगै जिरी नगरपालिका वडा नम्बर–०१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संगठनात्मक आधार थप विस्तार गरेको छ भने दोलखा जिल्लामा रास्वपाको राजनीतिक उपस्थितिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया (0)