कार्यसम्पादनमा धुर्कोट गाउँपालिकाको राष्ट्रिय स्तरमै उत्कृष्ट सफलता

Naresh Pokharel 121

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकनमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गरेको छ। आयोगको मूल्यांकनमा धुर्कोट गाउँपालिकाले ७६.७ अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये पहिलो स्थान हासिल गरेको हो। राष्ट्रिय स्तरमा भने ७५३ स्थानीय तहमध्ये धुर्कोट १०औं स्थानमा रहेको छ।

आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनका लागि १७ वटा सूचकहरू निर्धारण गरेको थियो। जसमा असार १० भित्र बजेट पेश गरेको, असार मसान्तभित्र बजेट पारित गरेको, आय-व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग, आवधिक योजना तर्जुमा, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ वा सोभन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन्।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले यो उपलब्धि सम्पूर्ण गाउँपालिका परिवारको सामूहिक प्रयासको परिणाम भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि यस्तै सकारात्मक कार्यसम्पादन जारी राख्न प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि पनि धुर्कोट गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट स्थान हासिल गर्दै आएको थियो। आयोगको अघिल्लो मूल्यांकनमा धुर्कोटले ७६.५४ अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशमा पहिलो र देशभरि तेस्रो स्थान हासिल गरेको थियो।

स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिस गरिने भएकाले यो उपलब्धिले धुर्कोट गाउँपालिकालाई थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *